सप्तरी : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), छिन्नमस्ता गाउँपालिका सप्तरीले विपन्नको छोरी विवाहमा सहयोग गर्नेदेखि छात्राहरुलाई साइकल बितरण गर्नेसम्मको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
लोसपाबाट गाउँपालिका अध्यक्षका उम्मेदबार विद्यानन्द चौधरीले आर्थिक रुपले विपन्न रहेका परिवारलाई छोरी विवाह गर्न समस्या हुने भएकाले आफू जितेमा सहयोग गर्ने बताए । उनले छोरीको विवाहका लागि रु २५ हजार सहयोग गर्ने प्रतिबद्धता घोषणा पत्र मार्फत् जनाएका छन् । यो रकम गाउँपालिकाको आन्तरिक कोषबाट दिइने उनले बताए ।
सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बितरण गर्ने, कक्षा ५ देखि माथि पढ्ने छात्रालाई अनिवार्य रुपमा आत्मरक्षा तालिमकोव्यवस्था गराउने, पालिका मातहतका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाई संचालन गराउने चौधरीले प्रतिबद्धता जनाएका छन् ।
यस्तै, छिन्नमस्ता भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन विशेष पहल गर्ने, छिन्नमस्ता दर्शन गर्न आउनेका लागि सुविधा सम्पन्न धर्मशालाको निर्माण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक रुपले अशक्त व्यक्तिलाई घरमै कार्यालयको सेवा प्रवाह गराउनेसहितका प्रतिबद्धता घोषणा पत्रमा समेटिएको छ ।