वडा सदस्यका उम्मेदबार र वडाअध्यक्षका उम्मेदबारका बुवामाथि आक्रमण

जनकपुरधाम । धनुषामा एक जना वडा सदस्यका उम्मेदबार र वडा अध्यक्षका उम्मेदबारका पितामाथि आक्रमण भएको छ । आक्रमणले दुबै जना सख्तघाइते भएका छन् ।
कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका सर्वदेव यादवका ७० बर्षीय पिता चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदबारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो ।
घरमा सुतिरहेको बखत बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका आफन्तले बताएका छन् । ‘रड, कोदालो, खुकुरी, लाठीसहित आएका उनीहरुले गरेको आक्रमणबाट उनी गम्भीर घाइते भएका छन् ।
‘घर बाहिर सुतिरहेको थिएँ । उनीहरुले वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका आफ्ना छोरा सर्वदेवलाई खोज्दै आएका थिए’ चन्द्रनारायण भन्छन्, ‘यसो उनीहरुतर्फ हेरे लगत्तै आफूमाथि आक्रमण गरे ।’
उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । उनको टाउकोमा ८ वटा टाँका लागेको परिवारजनले बताएका छन् ।
उनका अनुसार गाउँकै राजकुमार यादव, बिन्देश्वर यादव र श्रीकिसुन यादव, शम्भु मण्डलसहितकाले आक्रमण गरेको उनको भनाई छ ।
यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदबारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण भएको छ । आफ्नो घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले रड घोच्दै लाठी प्रहार गरेर आफूमाथि आक्रमण गरेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आएका मण्डलले बताए । ‘टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरेका छन्’ उनले भने ।
धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले घट्नाको अनुसन्धान भइरहेको बताएका छन् । ‘घट्नाबारे जानकारी आएको छ । पीडितले लिखित जाहेरी दिएका छैनन्’ उनले भने, ‘उहाँहरुले भने अनुसारको हुलिया अनुसारको खोजतलाश जारी राखेका छौं ।’