कमलाका उम्मेदबार दीपेन्द्रले सकाए घरदैलो, बुझ्दैछन् जनताका समस्या

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिएका युवा नेता दीपेन्द्र यादवले घरदैलो अभियान सकाएका छन् । उम्मेदबारी दर्ता गराएपछि नगरपालिकाका प्रत्येक घरमा गएर उनले जनतासँग मत मागेका छन् ।
हुन त शुरुदेखि नै जनताको बीचमा रहेका उनले जनताको सुखदुःखमा साथ दिदैं आएका छन् । ‘जनताले मलाई पहिलादेखि नै चिनेका छन्, तैपनि आफ्नो उम्मेदबारीबारे जानकारी गराएको छु’ नेकपा एमालेबाट उम्मेदबारी दिएका दीपेन्द्र भन्छन्, ‘जनता मलाई जिताउन आतुर छन् ।’
कमला नगरपालिकाको विकास आफूभन्दा कसैले गर्न नसक्ने उनको दावी छ । ‘मैले यहाँको सबै कुरा बुझेको छु । समस्यालाई हेरेको छु । ती सबै समस्या समाधान गर्नका लागि प्रतिबद्ध छु’ उनी भन्छन् ।
घरदैलो अभियान सकाएपछि अहिले जनतासँग समस्या र त्यसको समाधान कसरी गर्ने सम्बन्धमा छलफल गरिरहेको उनको भनाई छ । ‘म कुनै पनि तबरबाट जनतालाई धोका दिन्नँ’ उनी भन्छन्, ‘जनताको विश्वासलाई कदापी टुट्न दिन्नँ ।’