बोदे बर्साइनमा माओवादीको प्रदर्शन

सप्तरी । पुनः मतगणनाको माग गर्दै सप्तरीको बोदे बर्साइन नगरपालिकामा नेकपा माओवादीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरुले वडा नम्बर ३ को २ वटा बुथको मतगणना पुनः गर्न माग गरेका छन् ।
माओवादी केन्द्र सप्तरीका जिल्ला अध्यक्ष उमेश कुमार यादवको नेतृत्वमा मतगणना स्थल बाहिर टायर बालेर प्रदर्शन भई रहेको छ ।
माओवादीले निर्वाचन अधिकृतको कार्यालयमा मतगणना दोहर्याउन निवेदन समेत दर्ता गराएका छन् ।
मंगलवार वडा नम्बर–३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले धोषणा गरेपछि निकट्तम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवका समर्थकहरुले असंतुष्टि व्यक्त गर्दै प्रदर्शन गरेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले यादव ६०० मत ल्याएर विजयी भएको र उनका निकटतम प्रतिद्वन्दी माओवादीका यादवले ५९९ मत प्राप्त गरेको जनाएको छ ।
१ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै फेरि सुरु देखि मतगणना गर्न मांग गर्दै बुधबार प्रदर्शन गरिरहेका छन् ।
मतगणना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।