
विनय कर्ण ११ जेठ, सप्तरी । स्थानिय तहको निर्वाचनमा सप्तरीका १३ वटा निवर्तमान पालिका प्रमुखले चुनाव हारेका छन् ।
जिल्लाको १८ वटा स्थानिय तह मध्ये १४ वटामा दोहर्याएर निवर्तमान पालिका प्रमुखमा उम्मेदवारी दिएकोमा १३ जना चुनाव हारेका हुन् ।
सबै पालिका मतगण्ना सकिंदा बोदे बर्साईन नगरपालिकामा एक जना निर्वतमान पालिका प्रमुख आतेश सिंह यादव मात्र पुनः निर्वाचित भएका छन् । उनी बाहेक बाँकी १३ जनालाई यसपालीको चुनावमा हार बेहोर्नु परेको छ ।
यसपालिको स्थानिय तह निर्वाचनमा निवर्तमान पालिका प्रमुखहरुले गएको ५ बर्षमा राम्रो विकासीय कामहरु गरेको दावी सहित प्रचार–प्रसार गर्दै जनमत बटुल्ने प्रयास गरेको भएपनि उनीहरुको पत्तासाफ भएको छ ।
चुनाव प्रचारको क्रममा उनीहरुले यसपटक जनताले जिताए अधुरा रहेका विकासीय कामहरु पुरा गरी पालिकामा गुणस्तर शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोजगारका अवसरहरु सृजना गर्ने प्रतिवद्धता जाहेर गरेपनि उनीहरुलाई जनताले पत्याएको छैन् ।
यसअघिको चुनावमा गरिएको बाचा पुरा नगरेकै कारण निवर्तमान पालिका प्रमुखहरुलाई जनताले जनादेश नदिएको आम सर्वसाधारणहरु बताउँछन् । गएको ५ बर्षमा भ्रष्टाचार र कमिनशनका खेल धेरै भएका कारण विकासीय कामले गति लिन नसेकाले जनताले जनादेश मार्फत नेतृत्व परिवर्तन गरेको उनीहरुको भनाई छ ।
२०७४ को चुनावमा सप्तकोशी नगरपालिकाबाट उत्तम शर्मा, हनुमाननगर कंकालिनीबाट शैलेश साह, तिलाठी कोईलाडीबाट शतिश कुमार सिंह, छिन्नमस्ताबाट सुर्यनारायण मंडल, राजविराजबाट शम्भु यादव, विण्णुपुरबाट लिलाम्बर यादव, महदेवाबाट दीपककुमार यादव र रुपनीबाट हरेराम यादव पालिका प्रमुखमा निर्वाचित भएका थिए ।
यसैगरी राजगढ बाट परमानन्द यादव, कृष्णासवरनबाट पर्शुराम चौधरी, तिरहुत बाट हेमन्तकुमार बहडखेर, खडकबाट हेमायु हक, बोदेबरसाईनबाट आतेश कुमार सिंह यादव र बलान बिहुलबाट दयानन्द गोईत निर्वाचित भएका थिए तर, यसपालीको चुनावमा आतेश बाहेक सबैलाई हार बेहोर्नु परेको छ ।