![](https://rajdhanijanakpur.com/wp-content/uploads/2022/05/IMG_20220525_195347.jpg)
महोत्तरी । दोस्रो पटक महोत्तरीको भंगहा नगरपालिकाको मेयरमा निर्वाचित संजीब साहले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क बनाउने घोषणा गरेका छन् ।
माध्यमिक तह १० कक्षा सम्मको शिक्षा निशुल्क रहेकोमा अब सामुदायिक विद्यालयहरुमा ११ र १२ कक्षा सम्म निशुल्क पठनपाठनको व्यवस्था मिलाईने प्रतिबद्धता जनाएका छन् ।
उनले नीजिी विद्यालयबाट नेपाल सरकारको कानून बमोजिम गरिव दलित तथा जेहेन्दार १०% विद्यार्थीहरुलाई प्राप्त हुने निशुल्क पठनपाठनको व्यवस्था नगरपालिका समेतको समन्वय र सिफारिसमा गराईने घोषणा गरेका छन् । नागरिकहरुको गुणस्तरिय स्वास्थ्य सेवामा पहुच अभिवृद्धि गर्नका लागि १० शैय्याको आधारभूत अस्पताल संघीय सरकार संगको समन्वय र नगरपालिकाको पहलमा स्थापना गरिने उनले बताएका छन् ।
भंगहा नगर कार्यपालिकाको प्रशासकीय भवन संघीय सरकार समेतको साझेदारी र सहयोगमा निर्माण गरिने, सबै वडा कार्यालय र स्वास्थ्य चौकीहरुलाई नागरिक मैत्री सेवा प्रवाह अनुकुलन हुने गरी व्यवस्थापन गरिने, सिंचाई सुविधा नपुगेका खेती योग्य जमिनहरुमा बैकल्पिक विधि अपनाई १२ महिना सिंचित हुने व्यवस्था मिलाईने उनले प्रतिबद्धता जनाएका छन् ।