मूल्यबृद्धिबिरुद्ध जनकपुरधाममा प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरधाम । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिबिरुद्ध जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट युवा तथा विद्यार्थी संगठनद्धारा बिहीबार प्रदर्शन गरिएको छ ।
स्थानीय भानु चोकमा प्रदर्शन गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।
लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झा र बिद्यार्थी संघका जिल्ला अध्यक्ष इजाज अन्सारीको नेतृत्वमा प्रदर्शन गर्दै पुत्ला दहन गरिएको हो । लगातारको मूल्यबृद्धिले जनता अति नै मारमा परेकाले आफूहरु आन्दोलनमा उत्रेको युवा संघका अध्यक्ष झाले बताए । उनले बृद्धि गरिएको मूल्य फिर्ता नलिए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने समेत बताएका छन् ।
बिरोध कार्यक्रममा लोसपा युवा संघ धनुषाका उपाध्यक्ष निशान्त यादव,सचिव रोसन साह सुमित साह राजु साह,युवाका नगर अध्यक्ष आसुतोष साह लगायतका युवा बिद्यार्थीको सहभागिता रहेको थियो ।