सिरहामा बुवा–छोराको हत्यामा संलग्न तीन जना पक्राउ

सिरहा । सिरहाको अर्नामा गाउँपालिकामा केहि दिनअघि मात्रै मारिएका बुवा छोराको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्लाको अर्नामा गाउँपालिका १ महनौर निवासी ६०बर्षीय लुचाई भनिने चन्द्रदेव पाल र निजका १९ बर्षीय छोरा सन्त कुमारको ८ जेठको राति आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
हत्या आरोपमा पक्राउ पर्नेमा गोलबजार नगरपालिका ४ बस्ने ६५ बर्षीय बेचु पाल, अर्नामा गाउँपालिका घर भई गोलबजार नगरपालिका ४ मै बस्ने मृतक चन्द्रेश्वर पालकी साईली बुहारी २६ बर्षीया शान्तिदेवी पाल र अर्नामा गाउँपालिका १ महनौर बस्ने ४८ बर्षीय जनिफ मियाँ छन् ।
पक्राउ परेकाहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।
उनीहरुबिरुद्ध कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य भईरहेको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बूढाथोकीले जानकारी दिए ।
आफ्नो छोरालाई बढी दाइजो दिने युवतीसँग कम दाइजो लिएरै विवाह गर्न लागेको रिसइबीमा सिरहामा बुवा–छोराको हत्या गरेको रहस्य खुलेको छ । ती हत्यामा विवाह गर्न लागेका भाउजुको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक सन्त कुमार पालको जेठ ११ गते मोरंग जिल्ला बस्ने एक युवतीसँग विवाह तय भएको थियो । विवाहका लागि केटी पक्षले केटा पक्षलाई दाईजो स्वरुप रु १ लाख नगद, एउटा मोटरसाईकल तथा ८ आना सुन दिने सहमति भएको थियो ।
सन्तसँग विवाह तय हुनुअघि ती यूवतीको सिरहाकै गोलबजार बस्ने बेचु पालका छोरा प्रदिपसँग विवाह गर्ने तयारी भएको थियो । प्रदीपसँग विवाह गर्नका लागि युवती पक्षले बिराटनगरमा घडेरी दिने, उक्त घडेरीमा घर पनि बनाईदिने र कुनै ब्यापार ब्याबसाय गर्ने भएमा त्यसमा पनि लगानी गरिदिन तयार भएपनि प्रदीपले ती युवतीको पहिला नै बिबाह भइसकेको भन्दै विवाह गर्न तयार भएनन् । प्रदीप तयार नभएपनिउनका बुवा बेचुले ठूलो मात्राको दाईजोको लोभमा त्यही युवतीसँग विबाह गर्न दवाव दिइरहेपनि प्रदीपले नमान्दा मृतक सन्त कुमारसँग सोही युवतीको थोरै दाईजोमा बिहेको कुरा मिलेको रहेछ । जसका कारण बेचुले सन्तका परिवारसँग रिसइबी राखेर हत्या गरेको देखिएको प्रहरीको भनाई छ ।
विवाह गर्न लागेका सन्त र उनको बुवाको हत्या गर्ने योजनामा सन्तका आफ्नै भाउजुको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।
चन्द्रदेवकी साइली बुहारी र सन्तका भाउजु शान्तिदेवी पाल गोलबजारमा कोठा लिएर बस्दै आएकी थिइन् । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि सासु ससुरासँग राम्रो सम्बन्ध रहन नसक्दा उनी छुट्टै कोठा लिएर बस्न थालेकी थिइन् ।
सासु ससुराले निज बुहारीलाई अंश समेत नदिने, खर्च पनि नदिने र माईतीबाट ल्याएको चाँदीको गरगहना समेत नदिएकोले निज शान्ति देवी पाललाई आफ्नै परिवार सँग रिसिईवी बढेको देखिएको प्रहरीको भनाई छ ।
चन्द्रदेवको परिवारसँग रिसइबी राख्ने शान्तिदेवी, शान्तदेवीको रेखदेख गर्न जिम्मा दिएका जनिफ मियाँ र शान्तिदेवी कुरा गरिरहेको अवस्थामा उनीहरुको चिनजानकै रहेका बेचु पाल पुगेपछि दुबैले चन्द्रदेव परिवारप्रतिको रिसइबी प्रकट गर्दै हत्याको योजना बनाएका थिए ।
योजना बमोजिम झोलामा खुकुरी बोकेर गएका बेचुले दुबैको हत्या गरेको प्रहरीको भनाई छ ।