जनमतले सोध्यो तीन जना जनप्रतिनिधीलाई स्पष्टिकरण

 

जनकपुरधाम । जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट सिरहामा निर्वाचित तीन जना जनप्रतिनिधीसहित चार जनासँग स्पष्टिकरण सोधेको छ ।

मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष दिलिप कुमार सिंह, सोही वडामा निर्वाचित सदस्य कमल प्रसाद यादव, महिला सदस्य कल्याणी देवी महतो र विजय कुमार यादवसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टिकरण सोधेको हो ।

अनुशासन समितिका प्रमुख इन्जिनियर दीपक कुमार साहले हस्ताक्षर गरेको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘नगर कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको र विपक्षी पार्टीलाई फाइदा हुने तथा आफ्नै पार्टीको उम्मेदबार पराजित हुने गरी षडयन्त्रमा संलग्न रहेको बुझिन आएको हुँदा यस सम्बन्धमा तपाईंलाई किन कार्वाही हुनुनपर्ने हो लिखित स्पष्टिकरण ३ दिनभित्र पेश गर्न हुन अनुरोध छ ।’

चित्तबुझ्दो स्पष्टिकरण नआएमा पार्टीले आवश्यक कार्वाही अगाडि बढाउन सक्ने र निर्वाचित जनप्रतिनिधीको हकमा निर्वाचित पदबाट हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने चेतावनी दिइएको छ ।