जसपाभित्र विद्रोहको सम्भावना, उपेन्द्रलाई हटाउन कसरत

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यशैली, चरित्र र भ्रष्ट क्रियाकलापलाई लिएर पार्टीमा ठूलै विद्रोह हुन सक्ने सम्भावना देखापरेको छ । पार्टीलाई विधि, प्रक्रिया नियमसंगत संचालन गर्न असफल भएको ठहर गर्दै स्थानीय तह निर्वाचनमा नराम्रोसँग हार भएकोले पार्टीभित्र विद्रोह हुने सम्भावना बढेको हो ।
स्थानीय निर्वाचनमा उम्मेदवार चयन गर्दा यादवले मनपरी गरेको र टिकटमा मनपरी गरेकै कारण पार्टी नराम्रोसँग पराजित (तीस पालिकामा सीमित) हुनुपरेपछि नेतादेखि कार्यकर्तासम्म यादवप्रति आक्रोशित भएका छन् ।
उपेन्द्र यादवलाई पार्टीको कार्यकारी जिम्मेवारीबाट पन्छाउने आवाज जसपाभित्र जोडतोडका साथ उठिरहेको छ । प्राप्त जानकारीअनुसार जसपाका कूल सांसदहरूमध्ये कम्तिमा एकाउन्न प्रतिशत उपेन्द्रको विरुद्ध उभिन पुगेका छन् भने ४ सय ५१ सदस्यीय केन्द्रीय समितिमा बहुसड्ख्यक सदस्यहरू यादवलाई पन्छाउने पक्षमा छन् ।
उनीहरूले उपेन्द्र यादवविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिरहेको बुझिएको छ । अब हुने जसपा केन्द्रीय समितिको बैठकबाट उपेन्द्रलाई कार्यकारी जिम्मेवारीबाट पन्छाएर उक्त जिम्मेवारी बाबुराम भट्टराईलाई दिने तयारी भएको छ । संसदीय दलको नेता र पार्टीको कार्यकारीबाट हटाएपछि उपेन्द्रको राजनीतिक भविष्यमा विराम लाग्ने राष्ट्रिय राजनीतिमा चर्चा शुरु छ ।
उपेन्द्र हटेको अवस्थामा पार्टीको कमाण्ड बाबुराम भट्टराई, अशोक राई, राजकिशोर यादव र राजेन्द्र श्रेष्ठको हातमा पुग्ने बताइएको छ । न्यूज टूडेबाट साभार