२२ जेठ, जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश सभा सचिवालयमा आईतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । यस पटकको नीति तथा कार्यक्रममा छात्रालाई साइकल बितरण गर्न अब सिधैं विद्यालयलाई रकम पठाउने उल्लेख छ । यसअघि आफैं खरीद गरेर विद्यालयलाई उपलब्ध गराउँदै आएको साइकल खरीद गर्ने जिम्मा विद्यालयलाई दिने भएको हो । नीति तथा कार्यक्रममा साइकल खरीदका लागि विद्यालयलाई अनुदान रकम उपलब्ध गराउने उल्लेख छ ।
सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई मधेश प्रदेश सरकारले आफैं खरीद गरी साइकल बितरण गर्दै आएकोमा गत असोजमा साइकल खरीदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस सम्बन्धी कागजात नियन्त्रणमा लिएको छ । यो मुद्दाको किनारा नलागेपछि प्रदेश सरकारले साइकल खरीदका लागि सम्बन्धित विद्यालयलाई नै रकम उपलब्ध गराउने भएको हो ।
नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटक प्रदान गरिने जनाइएको छ । बितरण गरिने ल्यापटपको ्सामाजिक विकास मन्त्रालयद्धारा नियमित अनुगमन गरिनेछ ।
शिक्षालाई गुणस्तरीय बनाउन योगदान दिने २४ जना शिक्षकलाई प्रत्येक बर्ष मधेश शिक्षा पुरस्कारबाट सम्मान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।