नागरिकता विधेयक सदनबाट पारित गरिनेछ ः अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकताबिहीनलाई नागरिकता उपलब्ध गराउने बताएका छन् ।
जन्म सिद्ध नागरिकता प्राप्त गरेकाका सन्तान अहिले पनि नागरिकताबिहीन रहेको भन्दै अध्यक्ष यादवले सदनबाट नागरिकता विधेयक पारित गरी उनीहरुलाई आगामी चुनाव अगाडि नै नागरिकता दिएर मतदाता सूचीमा नाम राखिने बताए ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले लोसपा गठबन्धनमा आए आफूहरुले स्वागत नै गर्ने बताए ।
अध्यक्ष यादवले लोसपाका नेताहरु जसपामा आए स्वागत गर्न तयार रहेको पनि बताए । ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ’ अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’
उनले हिजोको गल्ती करेक्सन गर्दै जुटेर अगाडि बढनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । मधेशको मत बाँडिएपछि मधेशलाई नोक्सान हुने गरेको बताउँदै अहिले फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष यादवले लोकतन्त्रमा रहेको संकटबाट बचाउँदै मुलुकलाई ट्रयाकमा ल्याउन गठबन्धन सफल भएको पनि बताए ।