रकम नदिँदा पूजाका लागि ल्याउँदै गरेको सामान प्रहरीले भन्सारमा बुझायो

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा आयोजित सत्यनारायण भगवानको पूजाका लागि भारतबाट ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएर प्रहरीले भन्सारमा बुझाएका छन् ।
नगरपालिकाको वडा न्म्बर ८ बिसरभोरा निवासी किसुन सत्यनाम दासले आयोजना गरेको सत्यनारायण भगवानको पूजा र साधुको भण्डाराका लागि दुई दिनअघि भारतबाट ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्र२–०२–००५प नम्बरको स्कुटीमा भारतको महिनाथपुरबाट ल्याउँदै गर्दा नेपाली सिमामा रहेका प्रहरीले रकम मागेको र नदिएपछि प्रहरीले भन्सार कार्यालयमा बुझाइदिएको दासले बताएका छन् ।
दासले वडा कार्यालयबाट सिफारिस लिएर सामान ल्याउन लाग्दा पनि प्रहरीले रकम मागेको र नदिएपछि सामान र स्कुटी समेत भन्सारमा बुझाइदिएको बताए ।
उनले पूजाका निम्ति चिनी, खाने तेल, चामलसहितका सामान लिएर आउँदै गर्दा बुधबार प्रहरीले नियन्त्रणमा लिई शुक्रबार भन्सारमा बुझाएको बताए । उनले आफ्नो प्रयोगका लागि नभई पूजा र साधुको भण्डाराका लागि ल्याइएको उक्त सामान फिर्ता गराइ सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।