कुमारी आमा निहारिकाले दायर गरेको मुद्दामा आरोपितलाई झिकाउन अदालतको आदेश

 

जनकपुरधाम । कुमारी आमा निहारिका सिंहले दायर गरेको जर्वजस्ती करणी मुद्दामा आरोपितलाई झिकाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ ।

अदालतका न्यायाधीश गुणराज ढुँगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

जर्वजस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका ३ महेन्द्रनगर निवासी शिबराज श्रेष्ठलाई झिकाउन आदेश दिएको अदालतका रजिष्ट्रार खडगराज अधिकारीले जानकारी दिए ।

निहारिकाले गत असोजमा उच्च अदालतमा जर्वजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् ।

श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकिएको र त्यो समयभित्र हाजिर नभए एकल पैरवी हुने अदालतले जनाएको छ ।

श्रेष्ठले आफूलाई फकाएर जर्वजस्ती करणी गरेको निहारिकाले बताउँदै आएकी छन् । सोही करणीले आफ्नो गर्भ बसेको र छोरा जन्मेको उनको भनाई छ ।

उनी दोषीलाई कार्वाहीको माग गर्दै २१ महिने छोरासहित काठमाडौंमा अनसन बसिरहेकी छन् ।