जनकपुरधाममा पहिलो पटक आयो भारतीय रेल

 

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक भारतीय रेल बिहीबार आएको छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किट अन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधाम आएको हो ।

‘भारत गौरव एसी पर्यटक’ नामक रेल झण्डै ६ सय जना धार्मिक पर्यटक बोकेर बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आएको छ । रेलमा १४ वटा डिब्बा रहेको छ ।

पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितकाले स्वागत गरेका छन् ।

भारतबाट आएको रेल र पर्यटकलाई हेर्नका लागि रेल्वे स्टेशनमा ठूलो घुइँचो लागेको थियो ।

उनीहरु सबैलाई बिहीबार जनकपुरधाममा बास बस्ने व्यवस्था मिलाइएको छ ।

उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम दर्शन गराउनुका साथै साँझको गंगा आरतीमा समेत सहभागी गराइनेछ ।