जनकपुरधाम । खरीद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सप्तरीको राजविराज र सिरहाको लहानका पसललाई जरिवाना तोकिएको छ । राजविराजका ७ र लहानका ४ पसललाई जरिवाना गरिएको हो ।
बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा यहाँका पसलमा अनुगमन गरेको छ । त्यस क्रममा खरीद बिल नदेखाउने, अनुगमन कार्यमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको छ ।
मूल्य सूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ ।
खरीद बिल नदेखाउने राजविराजकै नुर फ्रूट एण्ड जेनरल स्टोर, नदिना फ्रूट एण्ड जनरल स्टोरलाई रु २० हजारका दरले र गौरब ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सिता ट्रेडर्स र लेडि कलेक्सनलाई रु ५ हजारका दरले जरिवाना तोकिएको बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिए ।
उनका अनुसार अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाधन्न खरीद बिक्री केन्द्र र न्यू पुजा बस्त्रालयलाई २० हजारका दरले जरिवाना गरिएको छ ।
लहानका व्यवसायीले पनि खरीद बिल नराख्ने गरेको पाइएको छ । खरीद बिल नराख्ने नितिश ट्रेडर्स एण्ड सप्लायर्सलाई रु २० हजार, खान बुट हाउस र सलमान बुट हाउसलाई रु १० हजारका दरले जरिवाना तोकिएको छ ।
यस्तै, इजाजत पत्र नलिई कारोबार गर्ने श्रीजी डिमार्टमेन्ट स्टोरलाई रु ५० हजार जरिवाना तोकिएको छ ।
सूचना अधिकारी खत्बेले तोकिएको जरिवाना वापतको रकम ७ दिनभित्र राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरी भौचर पेश गर्न निर्देशन दिइएको बताए ।
उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐनको दफा ३९ बमोजिम ती पसललाई जरिवाना तोकिएको हो ।
यस्ता व्यवसायीलाई तोकियो जरिवाना
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech