मेयर महतोको सक्रियतामा ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया सुरु

 

जनकपुरधाम धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको सक्रियतामा ढल्केवरमा प्रदेश स्तरिय ट्रमा सेन्टर निर्माण कार्यको प्रक्रिया सुरु भएको छ । प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गरिएको हो ।

मिथिला नगरपालिका वडा नं. ७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८र०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ ।

शनिवार प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन ईकाई धनुषाका सबईन्जिनियर सुनिल ठाकुरले जानकारी दिए । माटो परिक्षण कार्य दुई दिन सम्म चल्नेछ । यसअघि नेकपा एमालेका स्थानिय नेता तथा जनप्रतिनिधिहरुको अनावश्यक विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा नै ट्रमा सेन्टर बनाउन मेयर महतो सक्रिय भएपछि निर्माण कार्यको प्रक्रिया सुरु भएको हो ।

गत चैत्र १७ गते आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर तत्कालिन शहरी विकासमन्त्री रामकुमारी झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर आएकी थिइन् । तर पनि निर्माण कार्य सुरु हुन सकेको थिएन् । तत्कालिन मन्त्री झाँक्रीसँगै ढल्केवर आएका शहरी विकास मन्त्रालयका सचिव डा रमेश प्रसाद सिंहले अहिलेसम्मको अध्ययन अनुसार ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताउँदै आएका थिए । यद्यपी निर्माण कार्य सुचारु गराउन नसकेपछि मेयर महतो एक साता काठमाण्डौमै बसेर निर्माण कार्य प्रक्रिया बढाउन दबाद दिए । मेयर महतोको दबाब पछि प्रस्तावित जग्गामै ट्रमा सेन्टर निर्माण गर्न लागिएको छ ।

शनिवार माटो परीक्षण सुरु गरिएको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो स्वमं पुगेका थिए । उनले सोही जग्गामा ट्रमा सेन्टर निर्माण हुने ठोकुवा गरे । उपयुक्त जग्गालाई पनि अनावश्यक बखेडा झिकेर विवादित बनाउन मात्रै खोज्नेको मनसाय कुनै पनि हालतमा सफल नहुने मेयर महतोले दावी गरे ।

मेयर महतो केहिदिन अघि मात्रै ढल्केवरमा ट्रमा सेन्टर र १५ शैयाको अस्पतालको पहलका लागि काठमाडौं पुगेका थिए । नेपाली कांगे्रसबाट मेयरमा निर्वाचित महतोले चुनावी घोषणामा समेत उक्त स्थानमा नै ट्रमा सेन्टर बनाउने प्रतिबद्धता गरेका थिए । उक्त प्रतिबद्धता अनुरुप एक साताको काठमाण्डौ बसाई पछि ट्रमा सेन्टर निर्माणको ढोका खुलेको हो ।
ढल्केवरमा बन्ने ट्रमा सेन्टर मिथिला नगरपालिकाको गौरवशाली योजना भएको भन्दै फास्ट ट्र्याकमा त्यस योजनाको प्रक्रिया अघि बढाउन मन्त्रालयका मन्त्री र मातहतका सचिवलगायतलाई दबाब दिएको मेयर महतोले बताए । मधेस प्रदेशको जनतालाई सहज रुपमा सेवा पुर्याउन ढल्केबरमै ट्रमा सेन्टर र सरकारी अस्पतालको आवश्यकता रहेको छ, मेयर महतोले भने, केहि राजनीतिक दलका नेताको अड्चनकै कारण निर्माण रोकिदैंन्, ढुक्क हुनुस ट्रमा सेन्टर र १५ शैयाको अस्पताल द्रुत गतिमा निर्माण गरेर संचालनमा ल्याउँछौं ।

यसअघि स्थानीहरुले बुधेश्वर महतो र चन्देश्वर महतोको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर ट्रमा सेन्टर बचाउका लागि सडक तताउँदै आनदोलन गरेका थिए । ढल्केवरमै ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै उनीहरुले पटकपटक नगरपालिका घेराउ गर्दै स्थानीय सरकारलाई दबाब दिदैं आएका थिए ।