जनकपुरधाम । सिरहामा सामूहिक बलात्कारको शिकार भएकी एक बालिकाले आत्महत्या गर्न बाध्य भएको आरोप परिवारजनले बताएका छन् ।
मिर्चेया नगरपालिका वडा नम्बर १ मल्हनियाँकी १४ बर्षीया बालिकालाई गाउँकै दुई युवकले बलात्कार गरेपछि बालिकाले झुण्डिएर आत्महत्या गरेको परिवारजनले बताएका हुन् ।
बालिकाका दाजु जगनारायण सदाका अनुसार घरमा कोहि नभएको अवस्थामा गाउँका दुई युवक सतिश रजक र बिमलेश महराले फकाएर सोमबार दिउँसो जर्वजस्ती करणी गरेका थिए । घट्नाबारे सोमबारै साँझ बालिकाले परिवारलाई रुँदै बताएको उनले बताए । घट्नाबारे सुनाएको भोलिपल्टै मंगलबार बिहान ती बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
बालिका झुण्डिएको अवस्थामा फेला परेपछि आत्महत्या गर्न बाध्य पार्नेलाई कार्वाहीको माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गरी प्रदर्शन गर्दा प्रहरीले आरोपितलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेपछि राजमार्ग खोलिएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि प्रसाद ओलीले मृत बालिकाका परिवारले आत्महत्या दुरुत्साहन शिर्षकमा उजुरी दिएको बताएका छन् । उनले बालिकाको शवलाई पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएको बताउँदै रिपोर्ट आएपछि थप अनुसन्धानलाई अघि बढाउने बताए ।
सामूहिक बलात्कारको पीडा सहन नसकेकी बालिकाले आत्महत्या गरेको आरोप
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech