वर्षाका लागि प्रशासन प्रमुखहरुले गरे पूजा

राजविराज, २७ असार सप्तरीका प्रशासन प्रमुखहरुले वर्षाका लागि सोमबार सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा स्थित बाबा बनस्खण्डी मठमा पूजा गरेर वर्षाका लागि गुहार गरेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले लगायत सुरक्षा निकाय र सरकारी कार्यालयका प्रमुखहरुको टोलीसँगै मठमा पुगि वर्षाका लागि गुहार गर्दै पूजा गरेका छन् ।
लोहजरा भेडियो मठको नामले प्रसिद्ध बनस्खण्डी मठमा रुद्री, इन्द्र पूजा र हवन समेत गरेका छन् । जिल्लाका प्रमुख व्यत्तिहरुले मठमा पूजा गरेपछि पर्याप्त वर्षा हुने जविश्वास रहेको छ । पूजामा सहभागी स्थानीय नरेश कुमार यादवले भने, प्रत्येक वर्ष झै यस वर्ष यो पूजा समयमा नै भएको बताए ।
मठमा विधिवत पूजा गरेपछि पानी पर्ने जनविश्वास रहेकाले जनताको भावनालाई बुझेर यो पूजापाठ गरिएको सप्तरी सिडियो गौतमले बताए ।
तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवले विधिपूर्वक पूजा सम्पन्न भएको र यसमा लागेको खर्च गाउँपालिकाले दिएको बताए ।