किसानको माग पूरा गर्न भन्दै जनमतद्धारा बिरोध जुलुस

सप्तरी । जनमत पार्टी सप्तरीले किसानप्रति ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ ।
बिभिन्न ११ बुँदे माग राख्दै जनमतले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पठाएको हो ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मलखाद्य र बीऊको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, सिंचाइको व्यवस्था गर्नुपर्ने नसके सिंचाई विजुली निःशुल्क गर्नुपर्ने माग गरिएको छ ।
यस्तै, वेमौसमी हावाहुरी र बर्षाले भएको बालीनाली क्षति वापत राहत दिनुपर्ने, फसलको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसान कार्ड देखाएर सीमा नाकाको बजारबाट मलखाद्य बीऊ कृषि औजारसहित सामान ल्याउन पाउनुपर्ने, किसानको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने माग ज्ञापनमा गरिएको छ ।
त्यस्तै, ज्ञापनमा स्वतः बालिनाली विमा हुने व्यवस्था गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुठ्ठा मुद्दा खारेज गर्नुपर्ने, गिरफ्तार आन्दोलनकारीहरुलाई निःशर्त रिहा गरी मुद्दा खारेज माग गरिएको छ ।