सप्तरी । अनाधिकृत रुपमा सबारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि नेपाल पत्रकार महासंघ, सप्तरीले यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ ।
पत्रकार नभएपनि मोटरसाइकलमा प्रेस लेखेर कुदाउने क्रम बढेपछि महासंघ, शाखा सप्तरीले यसलाई नियन्त्रणका निम्ति सहयोग गरिदिन प्रशासनसँग आग्रह गरेको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई एक पत्र बुझाउँदै महासंघका पदाधिकारीले प्रेस लेखिएको सवारीसाधनको जुनसुकै व्यक्ति प्रयोग गरिरहेपनि अनिवार्य नियम बमोजिम चेकजाँच गरी सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
‘सप्तरीमा नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरित काम गरिरहेका छन्’ महासंघका अध्यक्ष श्रवणकुमार देव, सचिव रामनारायण विश्वासले संयुक्त रुपमा बुझाएको पत्रमा भनिएको छ, ‘ त्यस्ता ब्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बदनामी गरिरहेका छन् भने सवारीसाधनमा पनि ‘प्रेस’ शब्द लेखेर पत्रकारिताको दुरुपयोग गरिरहेका छन् ।’
अनुगमनको क्रममा आवश्यक परेको अवस्थामा महासंघका अध्यक्ष र सचिवसँग सम्पर्क र समन्वय गरिदिन भनिएको छ ।
पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले यो कार्यका लागि सहयोग गर्ने बताए । उनले अब प्रहरीले प्रेस लेखिएको सबारीसाधनप्रति ध्यान दिने बताए ।
पत्र बुझाउने क्रममा सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेको पनि उपस्थिति रहेको थियो । उनले यो कार्यका लागि प्रहरी तयार रहेको बताए ।
सबारीसाधनमा अनाधिकत प्रेस लेख्ने कार्यबिरुद्ध सप्तरी पत्रकार महासंघ एक्सनमा
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech