आफ्ना कार्यकर्ताको जागिर जोगाउन मिथिला नगरपालिकाकी उपमेयर बुढाथोकी मरिहत्ते गर्दै

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले आफ्ना पार्टीका कार्यकर्ताहरुको जागिर जोगाउन मरिहत्ते गरिरहेकोे आरोप लगाइएको छ ।
प्राप्त जानकारीअनुसार मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले साउन १ गते एक सूचना जारी गर्दै करार तथा दैनिक ज्यालादारीका कर्मचारीमध्ये ९ जनालाई कामबाट हटाएको थियो । कामबाट हटाइएका ति कर्मचारीमध्ये अधिकांश नेकपा एमाले पक्षधरका परेपछि उपमेयर बुढाथोकीले साउन ९ गते एक सूचना जारी गर्दै हटाइएका ति कर्मचारीलाई पुनः काममा फर्कन भनिएको छ ।
यसै विषयलाई लिएर मेयर महतो र उपमेयर बुढाथोकीबीचको टसल उत्कर्षमा पुगेको बताइएको छ । मेयर महतोले साउन १ गते करार तथा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीमध्ये ९ जना कर्मचारीको म्याद थप नहुने व्यहोराको एक सूचना जारी गर्दै कामबाट हटाएको थियो ।
यता उपमेयर बुढाथोकीले साउन ९ गते एक सूचना जारी गर्दै करार तथा ज्यालादारी कर्मचारीहरुलाई आफू कार्यरत स्थानमा फर्कन भन्दै एक सूचना जारी गरेको छ । उनले कर्मचारी हटाउने कार्य प्रक्रिया सम्मत नभको उल्लेख गर्दै कर्मचारी दरबन्दीको व्यवस्था नगर कार्यपालिकाले गर्नुपर्ने साथै करारका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने निर्णय कार्यपालिकाको बैठकबाट गराउने विधि हुँदाहुँदै कुनै छलफल नै नगरी हटाइएको कार्यप्रति गम्भीर असहमती जनाएकी छन् ।
स्रोतका अनुसार कामबाट हटाइएका कल्याण विक, विनोदकुमार रायलगायत अधिकांश कर्मचारी एमाले पक्षधर हुन् । उनीहरु वैशाख महिनामा सम्पन्न स्थानीय तहका निर्वाचनमा एमाले पार्टीको झण्डै बोकेर तथा एमाले पार्टीका उम्मेदवार जिताउन विभिन्न गतिविधिमा संलग्न रहेको दावीसमेत श्रोतको छ ।
उपमेयर बुढाथोकी नेकपा एमालेको टिकट पाएर मिथिल नगरपालिकाका उपमेयर पदमा निर्वाचित भएकी छन् ।
कामबाट हटाइएका ति कर्मचारीलाई यस अघिका मेयर हरिनारायण महतोले एकलौटी निर्णय गर्दै भर्ना गरेका थिए । यसअघिका मेयर हरिनारायण पनि नेकपा एमालेबाट निर्वाचित भएका थिए । मेयर हरिनारायण एकलौटी निर्णय गर्दै नातागोत तथा पार्टीका कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गरेका थिए । पार्टीका कार्यकर्ता र आफन्तलाई कर्मचारीको रुपमा भर्ना गरेपछि बेला–बेला यसको आलोचनासमेत हुँदै आएको थियो ।