
जनकपुरधाम, साउन ११ ।
मधेश सरकारले जनकपुर चुरोट कारखाना (जचुकाली)को प्राङ्गणलाई प्रशासनिक भवनको रुपमा प्रयोग गर्न दिन माग गरेको दुई दिन नबित्दै उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडुले कारखानाको निरिक्षण गरेका छन् ।
उद्योग मन्त्री बडुले बुधबार बन्द अवस्थामा रहेको जचुकालीको निरिक्षण गरेका हुन् । यस अघि दुई अगाडी मात्रै मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सहित पूरै मन्त्रीमण्डल काठमाडौँ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जचुकालीको प्राङ्गण प्रशासनिक भवनका लागि प्रयोग गर्न दिने माग सहित स्वामित्वका लागि ज्ञापन पत्र बुझाएका थिए ।
बुधबार जनकपुरधाम आई पुगेका मन्त्री बडुले मधेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवसंग जचुकालीको वर्तमान अवस्था सम्बन्ध केहीबेर कुराकानी गरेर कारखानाको भवनका साथै त्यहाँका मेशिनहरुको निरिक्षण गरेका हुन् ।
कारखानाको निरिक्षणपछि उद्योग मन्त्री बडुले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जिर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसंचालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालीको निरिक्षण गरेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय उत्पादन बृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप जचुकालीलाई समेत संचालनमा ल्याउने तयारी सरकारको रहेको उनले बताए । यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उनको भनाई थियो ।
मन्त्री बडुले भने ‘जचुकालीका कति मेशिनहरुको उपयोग गर्न सकिन्छ, नेपाल सरकारले आफै चलाउने कि निजि क्षेत्रसंग मिलेर सरकारले चलाउने लगायतका विषयमा छलफल गरेर यस विषयमा ठोस निर्णय गर्नेछौँ ।’
जचुकालीलाई पुनः संचालनमा ल्याउनका लागि यहाँको प्रदेश सरकारका साथै उद्योगी व्ययवासीहरुसंग समेत छलफल गर्ने उनले जानकारी दिए ।
मधेश सरकारले यहाँको जग्गा प्रशासनिक भवनका लागि प्रयोग गर्न मागेको विषयमा मन्त्री बडुले अहिले सरकारले यस विषयमा ठोस निर्णय नगरेकाले यसका विकल्पहरु खुल्ला रहेको बताए । यद्यपि प्रदेश सरकार पनि देशको जिम्मेबार निकाय रहेकाले प्रदेश सरकारको पनि विचारलाई पनि आफूहरुले महत्वका साथ लिने उनको भनाई थियो ।