जन्मिएपनि साँस नचलेका शिशुको सिटी अस्पतालमा सफल उपचार

सप्तरी । सात महिनामै जन्मेर साँस नचलेका एक शिशुको सफल उपचार गरिएको छ । जन्मिएपनि साँस नचलेका शिशुको राजविराजस्थित युनिक सिटी अस्पतालमा सफल उपचार गरिएको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ बस्ने १९ बर्षीया पुनिता सदा गर्भवती थिइन् । गर्भ बसेको ७ महिना पुगेको समयमा ८ साउनमा उनलाई व्यथा लाग्यो । उनी वडाकै स्वास्थ्य चौकी भर्ना भइन् । स्वास्थ्यकर्मीले नजिकै रहेको धर्मेश्वर हस्पिटलमा जान सल्लाह दिए । सदाले सोही अस्पतालमा १० साउनमा १ किलो ४ सय ग्रामको छोरा शिशुलाई जन्म दिइन् ।
‘शिशु जन्मेपनि त्यहाँ साँस चलेन’ सदाले भनिन्, ‘म आफैं व्यथामा थिएँ । साथमा पैसा पनि थिएन्’ उनले भनिन्, ‘तर राजविराजमा रहेका भिनाजुले यहाँ आउन सहयोग गर्नुभयो ।’
राजविराज आएर उनी युनिक सिटी अस्पतालमा भर्ना भइन् । तत्कालै डा. राजन जयसवालले उपचार शुरु गरे । उनले एनआइसियूमा राखेर उपचार गरेपछि शिशु सामान्य अवस्थामा फर्केका छन् । ‘जन्मिँदा बच्चामा यस्तो समस्या देखिनेवित्तिकै अक्सिजनको आवश्यक्ता पर्छ’ बाल रोग विशेषज्ञ डा. जयसवालले भने, ‘यस्तो अवस्थामा एनआइसियूको आवश्यक्ता पर्दछ ।’
उनका अनुसार अस्पताल संचालनमा आएको डेढ् बर्ष यता दर्जनभन्दा बढी यस किसिमका केस देखिइसकेको छ । यस्ता समस्या देखापर्ने सबै शिशुको सफल उपचार गरिएको उनले बताए ।
अस्पतालका संचालक जयप्रकाश ठाकुरले सदाको आर्थिक अवस्था कमजोर भएका कारण सबै उपचार निःशुल्क गरिदिएको बताए ।