मृत फेला परेका अर्जुनको हत्या भएको खुल्यो, ५ जना समातिए

जनकपुरधाम । गत साउन २० गते मृत फेला परेका जनकपुरधाम ७ स्थित माछा बजार बस्ने १८ बर्षीय अजय भनिने अर्जुन साहको हत्या भएको पाइएको छ । उनको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौरस्थित सडक खण्डमा मृत फेला परेका अर्जुनको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई जनकपुरधाम ७ मा डेरा गरी बस्ने ३२ बर्षीय जित कुमार यादव, उनका भाई २१ बर्षीय कृष्ण यादव, सोही ठाउँ बस्ने २५ बर्षीय सन्तोष कुमार साह, धनुषाको औरही गाउँपालिका २ घर भई क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगर बस्ने २७ बर्षीय बिगुल मुखिया बिन र उनकै २१ बर्षीया श्रीमती किरण भनिने प्रमिला महरा छन् ।
प्रहरीका अनुसार एक बर्षअघि बिगुल, प्रमिला र कृष्ण यादवले अर्जुनको घरबाट नगद रु १ लाख तथा सुनका गहना चोरी गरेका थिए । करिब ६ महिनापछि मृतक अर्जुनकी आमाले किरण र कृष्णलाई प्रहरीमा उजुरी गर्छु भनेपछि आपसी छलफल गरी उक्त रकम तिर्ने भन्दै बिगुलले रु १ लाख १७ हजार तथा कृष्णले रु २ लाख ४६ हजारको तमसुक बनाएर सम्पर्कबिहीन भएका थिए ।
अर्जुनको हत्या हुनुभन्दा २० दिन अगाडि मृतक अर्जुनकी आमाले उनीहरुलाई जनकपुरधाममै फेला पारी तमसुक बमोजिमको पैसा नदिए प्रहरीमा उजुरी दिने डर देखाएकी थिइन् । सोही रिसइबीका कारण बिगुल, प्रमिला र कृष्णले अर्जुन र निजकी आमालाई मारी आमाले लगाएको सुनको गहना, घरमा रहेको नगद र निजहरुसँ रहेको तमसुक समेत लुटने योजना बनाएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिए ।
कृष्ण यादवले पूर्व योजना बमोजिम आफ्नो दाजु जितकुमार र सन्तोष कुमारलाई अर्जुनलाई मारेमा रु ३० हजार दिने आश्वासन दिएपछि यी दुबैले अर्जुनलाई फोन गरी लोहारपट्टीको फुलबरिया गाउँमा बोलाएर घाँटी कसेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनाबिरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।