सर्लाहीमा श्रोत नखुलेको रु ३६ लाख र सुनको गहनासहित दुई जना पक्राउ

जनकपुरधाम । श्रोत नखुलेको रु ३६ लाख र गहनासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चेकजाँचका क्रममा बरहथवा नगरपालिका ११ हिगपुर व्यारेजबाट प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकलमा सबार उनीहरुलाई पक्राउ गरिएको हो । डोटी जिल्लाको शिखर नगरपालिका ७ घर भई काठमाडौंको कपन १० बस्ने ३० बर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चांगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ३१ बर्षीय विशाल खत्रीलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
उनीहरुको साथबाट नगद रु ३६ लाख र रु १९ लाख ५८ हजार बराबरको सुनको सिक्री र ब्रासलेट बरामद भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी विजय यादवले जानकारी दिएका छन् ।
पक्राउ परेका दुबैलाई आवश्यक कार्वाहीका लागि नगद, गहना र मोटरसाइकलसहित सर्लाही भन्सार कार्यालय मलगंवा पठाइएको छ ।