
जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहामा प्रहरीले भाईबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
आफ्नै भाईबुहारी बबितियादेवीको हत्या आरोपमा ३० बर्षीय जेठाजु बिरेन्द्र दासलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनलाई हत्यामा सघाउने बिरेन्द्रका काका १९ बर्षीय उमेश दास र सालो १९ बर्षीय शत्रुद्यन दासलाई पनि पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार बिरेन्द्र र बबितियादेवीबीच अनैतिक स्म्बन्ध थियो । यो सम्बन्ध विस्तारै गाउँ समाजका व्यक्तिले थाहा पाउने र बबितियाको व्यबहार पनि परिवर्तन हुँदै गएकाले बिरेन्द्रले उनको हत्याको योजना बनाएको देखिएको प्रबक्ता क्षेत्रीले बताए ।
२७ भदौमा आफ्नै घरमा सुतिरहेकी बबितियादेवीलाई शत्रुद्यनले खुट्टा, उमेशले हात समातिरहँदा बिरेन्द्रले डोरीबाट घाँटी कसी मारेको देखिएको क्षेत्रीको भनाई छ । बबितियाको हत्या पश्चात शवलाई खाटमुनी लुकाई कोठामा तीनै जना मेला हेर्न गएको र राति १२ बजेतिर आई शवलाई बाँसघारीमा फालेका थिए । शव फालेपछि अरु कसैले बलात्कार गरेर मारेको हो भन्ने देखाउन तीनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घट्नास्थलमा राखेको देखिएको प्रहरीको भनाई छ ।
पक्राउ परेकाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।