मधेशी भाषामा शपथ: मधेशी आयोगले संघीय संसद सचिवालयलाई सोध्यो स्पष्टीकरण

 

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष सीके राउतसहित केहि प्रतिनिधिसभा सदस्यले मधेशी भाषामा शपथ लएको विषयमा मधेशी आयोगले संघीय संसद सचिवालय, सिंहदरवारलाई स्पष्टीकरण सोधेको छ ।

मधेशी भाषामा शपथ लिएको विषयमा उजुरी आएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेकी हुन् ।

‘हाल सम्म भाषा आयोग बाट प्रकाशित गरिएको सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू – २०७८ र मधेशी आयोगमा मधेशी भाषा सुचिकृत नभएको देखिएकोले सो भाषामा प्रतिनिधि सदस्यहरुले औपचारिक कार्यक्रममा सपथ लिनु गम्भीरताको विषय रहेको संसद सचिवालयलाई सोधेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

नेपालमा विद्यमान रहेका सुचिकृत अन्य भाषाहरुमाथि नकारात्मक प्रभाव परेको भन्दै कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भनी स्पष्ट हुने गरी जानकारी गराउन संसद सचिवालयलाई आयोगले निर्देशन दिएको छ ।

आयोगले प्राप्त उजुरी तथा भाषा आयोगद्वारा प्रकाशित सुचिकृत भाषाहरुको सूची समेत संसद सचिवालयलाई पठाएको छ ।

मधेशी भाषामा जनमत पार्टीकै तीन सांसद डा. राउत, अनिता साह र बिनिता सिंहले शपथ लिएकी हुन् । मधेसका जिल्लाहरुमा मधेशी भाषामा शपथ लिएको भन्दै डा. राउतको विरोध भइरहेको छ ।