सिरहा आन्दोलनमा प्रहरीद्वारा हवाई फायर

 

जनकपुरधाम । विद्यालयकी शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आन्दोलनमा उत्रेका विद्यार्थी र स्थानीयले प्रहरीको टोलीमाथि नै ढुंगामुढा गर्न थालेपछि हवाइफायर गर्नुपरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड आश्रुग्यास प्रहार गरेका छन् ।

प्रहरीले लाठीचार्ज समेत गरेको बुझिएको छ । प्रहरीको लाठीबाट केहि विद्यार्थी र विद्यार्थीको ढुंगामुढाबाट ७ जना प्रहरी समेत सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कूलको कक्षा ८ मा अध्ययनरत छात्रा महराको स्प्रिटको सेवनबाट मृत्यू भएको हो । उनी पानी मागेपछि शिक्षिक अम्बिका लम्सालले माउण्टेन ड्यूको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिएकी थिइन् ।

सो बोतलबाट छात्रा महराले पानी ठानेरै स्प्रिट खाएपछि बेहोस् भएकी थिइन् । उनको उपचारको क्रममा कर्जन्हाको फुलकुमारी महतो मेमोेरियल अस्पतालमा हिजो साँझ मृत्यू भएको छ । सो घटनाको विरोधमा आज विहानैबाट विद्यार्थीहरु मिर्चैयामा राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनमा उत्रेका विद्यार्थीहरुले स्कूलमा समेत तोडफोड गरेका छन् । यस्तै प्रहरी कार्यालयमा पनि ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रेको स्थानीयको भनाई छ । डिएसपी बुथाथोकीले घटनाको अनुसन्धान गरिरहेको र दोषीमाथि कारबाही गर्ने बताइसकेका छन् ।