जनकपुरधाम । पद तथा गोपनीयताको शपथ लिएलगत्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश मातहतका कार्यालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाए । उनले भ्रष्टाचार नियन्त्रण नै आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।
उनले भने, ‘मुलुकमा क्यान्सर भन्दा पनि ठूलो रोग भ्रष्टाचार हो । मुलुक त मेरो जिम्मा छैन् । प्रदेशको जिम्मा त आजदेखि भयो । त्यसैले प्रदेश मातहतका कुनै पनि कार्यालयमा भ्रष्टाचार हुन दिन्नौं ।’
उनले समाचारको आधारमा पनि कारबाही गर्ने भन्दै सफा तथा फेयर समाचार लेख्न संचारकर्मीसंग आग्रह गरे ।
विगतमा मुख्यमन्त्री कार्यालयले नै भ्रष्टाचार गरेको अख्तियारले पुष्टि गरिसक्यो नी भन्ने जिज्ञासामा मुख्यमन्त्री यादवले भने, ‘विगतको मलाई थाहा छैन् । आजदेखि म पदभार ग्रहण गरे । अब म पनि हेर्छु ।’
भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले बनाएको जनलोकपाल आयोग निस्कृय रहेको विषयमा उनले प्रशासन नै मातहतमा नरहेकाले केहि गर्न नसेको र अब त्यसलाई पनि हेर्नैपर्ने बताए ।
मुख्यमन्त्री यादवले एक साताभित्रै विश्वासको मत लिने र मन्त्रीपरिषद् विस्तार गर्ने बताए । उनले कांग्रेस, लोसपा र नेकपा एसलाई पनि समर्थन गर्न अनुरोध गरेकाले तत्काल तीन मन्त्रीको मन्त्रालय नतोकिएको बताए ।
उनले समर्थन गरेपछि सरकारमा पनि तीनै दललाई आउन आग्रह गर्ने बताए । उनका अनुसार लोसपा भने सरकारमा आउन तयार भइसकेको छ । कांग्रेस र नेकपा एससंग छलफल चलिरहेको छ ।