
जनकपुरधाम । जनमत पार्टीलाई संघीय सरकारमा उद्योग मन्त्रालय दिने सहमती गरेर खानेपानी मन्त्रालय दिएपछि सो पार्टी अझै असन्तुष्ट रहेका बेला मधेशमा पनि बेइमानीको प्रयास भएको छ ।
मधेश प्रदेशमा जनमत पार्टीबाट विना विभागिय मन्त्रीको शपथ लिएका बसन्त कुशवाहालाई ११ दिनपछि मुख्यमन्त्री सरोज कुमार यादवले हिजो सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो । तर अचानक मन्त्रालय बदलिएपछि मधेश प्रदेशमा पनि जनमत पार्टी असन्तुष्ट बनेको छ ।
प्रदेश प्रमुख कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले आज जारी गरेको विज्ञप्तीमा जनमत पार्टीका कुशवाहालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको उल्लेख छ ।
नेकपा एमालेका सरोज कुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य ७ मन्त्रालय भने मुख्यमन्त्री यादवले नै राखेका छन् ।
एमाले र जसपाका मन्त्रीले सहमती अनुसारकै मन्त्रालय पाए पनि जनमतका कुशवाहाको मन्त्रालय बदलिएको छ । अचानक मन्त्रालय फेरिएर प्रदेश प्रमुखको कार्यालयबाट विज्ञप्ती जारी भएपछि मन्त्री कुशवाहा स्वयंम झस्किएका छन् ।
जनमत पार्टीका साँसद सञ्जय यादवले सामाजिक विकास मन्त्रालय दिने निर्णय भए पनि कृषि मन्त्रालय तोकिएको विज्ञप्ती देखेपछि आश्चर्य लागेको बताए । उनले यो विषयमा छलफल गरिरहेको र अब के गर्ने विषयमा छलफल पश्चात मात्र केहि भन्ने बताए ।