चाेरी भएकाे डिजेल लाेड् ट्यांकर फेला, दुई जना समातिए

जनकपुरधाम । एक साताअघि सप्तरीबाट चाेरी भएकाे डिजेल लाेड ट्यांकर भेटिएको छ । ट्यांकर चाेरी गरि बेच्ने र किन्ने व्यक्ति पक्राउ परेका छन् ।
बाराकाे अमलेखगंज डिपोबाट गत माघ ११ गते २० हजार लिटर डिजेल लोड गरी विराटनगरतर्फ लग्न खोजिएको को.१ख ३६५५ नम्बरको टयांकर सप्तरीको कंचनरुप नगरपालिका ८ स्थित बि.कि. पम्पबाट चोरी भएको थियो ।
उक्त पम्पमा ट्यांकर पार्किङ गरी चालक कंचनरुप नगरपालिकाकै वडा नम्बर ९ बस्ने ४५ बर्षीय बिनोद कुमार भुजेल आफ्नो घर गएका थिए । सोही समयमा हराएको यो टयांकर हराएको थियो । प्रहरीका अनुसार १५ माघको बिहान ९ बजे शम्भुनाथ नगरपालिका २ खैरबना भन्ने स्थानमा उक्त ट्यांकर वेवारिसे अवस्थामा फेला परेको हो । फेला परेपछि ट्यांकर चेकजाँच गर्दा त्यसभित्रका ५ चेम्बरमध्ये ४ चेम्बरमा राखिएको डिजेल खाली पाइएको थियो । एउटा च्याम्बरमा ४ हजार लिटर डिजेल रहने गर्दछ । १६ हजार लिटर डिजेल गायव भएको सन्दर्भमा नेपाल आयल निगम १ नम्बर प्रदेशको कार्यालय विराटनगरका कर्मचारी र नेपाल प्रहर समेतको टोलीले छानबिन गर्दा दुई जना समातिएको सप्तरी प्रहरीका डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उक्त ट्यांकर कंचनरुपबाट शम्भुनाथसम्म लगी कंचनरुप नगरपालिका ९ बस्ने २९ बर्षीय नवराज भुजेलले डिजेल बेचेका थिए । उनीसँग खडक नगरपालिका ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ बर्षीय श्यामकुमार साहले डिजेल खरीद गरेका थिए ।
बेच्ने र किन्ने मान्छेलाई १६ माघमा नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अन्य अनुसन्धान गरिरहेको सिंहले बताए ।