
जनकपुरधाम । दल बदलको अत्यधिक खेल हुने मधेश प्रदेशमा एक सांसदले एक महिना नबित्दै एक पार्टी त्यागेर अर्काे पार्टीमा प्रवेश गरेका छन् ।
एक महिना नबित्दै अर्काे पार्टीमा प्रवेश गर्ने प्रदेश सांसद हुन शंकर कलबार । बारा क्षेत्र नम्बर ३ को ‘क’ बाट स्वतन्त्र उम्मेदबार भई निर्वाचित कलबार एक महिनाअघि नेकपा एमाले प्रवेश गरेका थिए । काठमाडौंस्थित बालकोट पुगेर उनी २६ पुसमा एमाले पुगेका थिए ।
उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।
उनै कलबार आईतबार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । कलबारलाई जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादव र मधेशका अर्थमन्त्री संजय यादवले जसपा प्रवेश गराएका हुन् ।
कलवार ०७४ मा उपेन्द्र यादवको पार्टीबाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर ०७९ मा उपेन्द्र यादवको पार्टी जसपाले उनलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेदबार बनेर निर्वाचित भए ।
जसपाले चुनावमा अयोग्य ठानेका कलवार पुनः पुरानै पार्टीमा फर्केका छन् । उनलाई मन्त्री बनाउने लोभमा पार्टी प्रवेश गराएको बताइएको छ ।