भासिएको कमला पुलको निरीक्षण गर्न मन्त्री श्रेष्ठ जनकपुरधाम आए

 

जनकपुरधाम । भासिएर अलपत्र परेको सिरहा- धनुषा जोड्ने कमला पुलको निरीक्षण गर्न भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठ जनकपुरधाम आएका छन् ।

आज साँझ मन्त्री श्रेष्ठ विमानबाट जनकपुरधाम आएका हुन् । विमानस्थलमा उनले भने- भासिएको कमला पुल निरीक्षण गर्नकै लागि आएको छु । सबै प्राविधिक र कन्ट्रयाक्टरलाई पनि बोलाएका छौं ।’

निर्माण सम्पन्न पश्चात उद्घाटनको तयारी गरिरहेकै बेला दुई वर्ष अगाडी आएको बाढीले कमला पुलको पिलर भांसिएको थियो । भासिएको दुई वर्ष वित्दा पनि पुनः निर्माण वा मर्मतको कार्य सुरु नभएपछि सो क्षेत्रका बासिन्दा पटक पटक आन्दोलन गरेकाले मन्त्री श्रेष्ठ निरीक्षण गर्न आएका हुन् ।

मन्त्री क्षेत्र आज जनकपुरधाममा बस्ने र भोली विहान हुलाकी सडक भएर कमला पुलको निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बुझिएको छ ।

उनले अलपत्र आयोजनाहरुलाई कसरी अगाडी बढाउने र धिमही गतिमा काम भइरहेको आयोजना समयमै कसरी सम्पन्न गर्ने विषयमा अहिले केन्द्रीत बनेको बताए । उनले धिमही गतिमा काम भइरहेको आयोजना समयमा सम्पन्न गर्न समय निर्धारण गर्ने बताए ।