सिरहा । नेपाली कांग्रेस मिर्चैयाका युवा नेता धनेश्वर यादवले मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादकको आलोचनामा सोमबार साँझ एउटा पोष्ट लेखे । त्यस पोष्टको कमेन्टमा थुप्रै व्यक्तिले आफ्नो प्रतिक्रिया उल्लेख गरेका छन् ।
जसमध्ये एकजना महिलाले मेयरको पक्ष लिँदै कमेन्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘भेरी फन्नी, यसमा व्यक्तिगत रिसिइवी मात्र झल्किन्छ, अरु केहि होइन ।’ त्यसमा मिर्चैया खानेपानीका अध्यक्ष तथा मिर्चैयाका नेता अंजय साहले रिप्लाई गरेका छन् । उनले लेखेका छन्, ‘चार वर्ष अझै मेयरको भक्ती गर्नु, छुट छ ।’
ती महिलाले फेरि त्यसमा रिप्लाई गर्छिन् र लेख्छिन्, ‘फूल टाइम भक्त रहन्छु, एनी प्रोब्लेम ?’ कमेन्टमा यसरी जुहारी खेल्ने महिला हुन् सानू यादव, वास्तविक नाम सन्तोषी यादव । उनी मिर्चैया नगरपालिकामा करारमा कार्यरत कर्मचारी हुन् ।
जनताको करबाट आउने पैसाले तलब पाउने भएकाले सरकारी कर्मचारी जनताका नोकर हुन्छन् । कानुनतः उनीहरू आफ्ना कामबाहेक यसरी कसैको पक्ष विपक्षमा कार्यकर्ता जसरी कुनै पनि कार्य गर्न मिल्दैन ।
तर, कानुनलाई धज्जी उठाउँदै सरकारी दानापनी खाएर काम उनी लठैतको गर्छिन् । समाजिक सञ्जालमा सक्रिय रहने उनी मेयर यादवको विपक्षमा आउने पोष्टहरुमा छानीछानी लठैत जसरी कमेन्ट लेखिरहेकी हुन्छिन् ।
जसका कारण मेयर यादवले उनलाई यसैका लागि राखेका हुन् कि भनेर प्रश्न उठेको छ । नगरपालिकामा उनलाई कर्मचारीको रुपमा राखिएपनि उनको यस्तो छाडा गतिविधिले नगरपालिका र मेयर यादवको छविमाथि नै नकारात्मक असर परिरहेको छ ।
उनको कार्यालय पनि आउने जाने ठेगान हुँदैन । मन लागे आउने, नलागे नआउने, कार्यालय समयमै बाहिर घुमिरहने । त्यही भएर उनी समाजिक सञ्जालमा मेयरको पक्षमा बोल्दा आफ्नो जागिर जोगिइराख्ने भन्ने ध्येयले यस्तो गतिविधिमा सक्रिय रहने गरेको श्रोतको भनाइ छ ।