
सिरहा । नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । कोरोनाका कारण थला परेका पुस्तक व्यवसायी यो सिजनमा रिकभर हुने आशमा छन् ।
तर, मिर्चैयाका निजी विद्यालयहरुले किताबको विवरण सार्वजनिक नगरिदिँदा उनीहरु समस्यामा परेका छन् । केहि विद्यालयले सार्वजनिक गरेपनि कतिपय ठूला विद्यालयहरु नै बुकलिस्ट गुपचुप राखेका छन् ।
जसका कारण पुस्तक व्यवसायी मारमा परेका छन् । यहाँका कतिपय निजी विद्यालयले कमिसनको लोभमा आफ्नै पुस्तक पसल खोलेका छन्, कतिपयले केहि सिमित पुस्तक पसललाई मात्रै लिस्ट दिएका छन् ।
निजी विद्यालयको यो हर्कतले विद्यार्थी र अभिभावक हैरानीसँगै थप आर्थिक शोषणमा परिरहेका छन् । यसबारे नियामक निकायलाई कुनै चासो देखिएको छैन ।
पुस्तक व्यवसायी संघ सिरहाले पनि केहि विद्यालयहरुले बुकलिस्ट सार्वजनिक नगरेको जनाएको छ । पुस्तक व्यवसायी संघ सिरहाका अध्यक्ष अप्पु साहले यो कार्य न्यायोचित नभएको भन्दै सबै विद्यालयलाई बुकलिस्ट सार्वजनिक गर्न र विद्यार्थीले स्वेच्छाले शैक्षिक सामाग्री किन्न पाउने वातावरण बनाइदिन सरोकारबालासँग आग्रह गरेका छन् ।