जनकपुरमा एक महिलामाथि श्रीमान, सासु-ससुरा र देवरबाटै आगो लगाएर हत्या प्रयास

 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाकी श्वेता झालाई आफ्नै श्रीमान, ससुरा, सासु र देवरले आगो लगाएर हत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

श्रीमान राजिव झा, ससुरा शिवशंकर झा, सासु र देवरले आगो लगाएर स्वेताको हत्याको प्रयास गरेका हुन् । उनको छातीदेखि तिघ्रासम्म ३५ प्रतिशत भाग जलेको छ । २८ वर्षीया उनी अहिले प्रादेशिक अस्पतालमा उपचाररत छिन् ।

यो घटना वैशाख १ गतेको हो । घटनापछि उनलाई घरबाट निस्किन दिएको थिएन । उनको बुवा जयकुमार झा (भारत, दरभंगा)का आएपछि उपचारका लागि दरभंगा लगेका थिए ।

जयकुमार भन्छन्, ‘नेपालको कानून थाहा नभएर उपचारका लागि छोरीलाई भारत लगेको थिए । तर न्यायका लागि वकिलसंग सल्लाह गरेपछि पाएको सुझाव अनुसार छोरीलाई प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छौं ।’

स्वेता र राजीवबीच १० वर्ष अगाडी सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाह लगत्तै राजीव वैदेशिक रोजगारका लागि गएपछि स्वेता ५ वर्षसम्म माइतमै बसेकी थिइन् ।

स्वेता भन्छिन्, ‘उहाँ (श्रीमान) विदेश गएपछि म माइतमै बसे । एक रुपैयाँ कहिल्यै दिएनन् । सबै खर्च मेरो बुवाले नै तिर्नुहुन्थ्यो ।’ विदेशबाट फर्केपछि तीन तोला चाँदीका लागि पटक पटक यातना दिएको उनले सुनाइन् ।

‘कति यातना खेपेको छु’, भावुक हुँदै उनले भनिन्, ‘वैशाख १ गते ससुरा र देवरले समात्यो, अनी श्रमानले आगो लगायो ।’ घरमै मारिदिन्छु, भारतबाट को आउँछन् तिमीलाई बचाउन भन्दै मोवाइल समेत खोसेको र उपचार गराउन समेत नलगेको उनले पीडा पोखिन् ।

उनका एक छोरी र एक छोरा समेत छन् । छोराछोरीलाई समेत कुटपिट गरेपछि माइत पठाएको स्वेताले बताइन् । उनी भन्छिन्, ‘मलाई मार्न खोज्नेहरुमाथि काराबाही हुनुपर्छ । म उहाँ (श्रीमान)को मुख पनि हेर्न चाहदिनँ । छोराछोरीले हक पाउनुपर्छ ।’

यो टनाबाट धनुषा प्रहरी अनभिज्ञ छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले अनौपचारिक रुपमा घटनाबारे थाहा पाएपछि यर्थात् बुझ्ने प्रयास गरिरहेको बताए ।