धर्मेन्द्र साहको दादागिरी : होटेल फील इटमा जबर्जस्ती तालाबन्दी !

 

जनकपुरको होटेल व्यवसायी धर्मेन्द्र साहले अर्को होटेल सञ्चालक माथि ज्यादती गरेको पाइएको छ । जनकपुरको जनक चौकमा भरत महासेठले सञ्चालन गरेको होटेल फील इटमा धर्मेन्द्र साहले दादागिरी शैलीमा अनाहकमा तालाबन्दी गरेका छन् ।

भरत महासेठले प्रकाशजंग राणासँग जग्गा भाडामा लिई जनक चौकमा करिब ८ वर्ष भन्दा बढीदेखि होटेल फील इट सञ्चालन गरिरहेका छन् । तर बिहिवार अचानक आएर धर्मेन्द्र साहले यो जग्गा देशपाल सिंहको रहेको भन्दै तालाबन्दी गरेका हुन् । आफूले प्रकाशजंग राणासँग जग्गा भाडाको सम्झौता गरि करिब ८ वर्षदेखि होटेल सञ्चालन गर्दै आएकोमा बिहिवार अचानक आएर धर्मेन्द्र साहले आफूहरुलाई गालीगलौज गर्दै यो जग्गा देश्पाल सिंहको रहेको भन्दै होटेलमा तालाबन्दी गरिदिएको होटेल सञ्चालक भरत महासेठले बताए ।

आफूले वर्षौँदेखि महिनैपिच्छे राणालाई जग्गाको भाडा तिरिरहेको महासेठले बताए । उक्त जग्गाको बारेमा आजसम्म कोही कसैले खोजतलास गर्न नआएपनि धर्मेन्द्रले लठैतको रूपमा जबर्जस्ती तालाबन्दी गरेर दादागिरी देखाउन खोजेको होटेल सञ्चालक महासेठले आरोप लगाए ।

यस विषयमा आफूले उद्योग वाणिज्य संघलाई पनि जानकारी गराउँदा बेवास्ता गरेको आरोप लगाए । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको बताउदै होटेल सञ्चालक महासेठले आफ्नो होटेल बन्द गर्दा दैनिक दुई लाख बराबरको नोक्सान हुने गरेको बताए ।

स्रोतका अनुसार धर्मेन्द्र साहले उक्त जग्गामा महासेठले सञ्चालन गरेको होटेल फील इट बन्द गराएर आफ्नो होटेल सञ्चालन गर्ने दाउमा लागेका छन् ।

यस विषयमा बुझ्दा जग्गाधनीका छोरा सम्वित राणाले उक्त जग्गा आफ्नो रहेको र आफूसँग लालपुर्जा समेत रहेकोले भरत महासेठलाई होटेल सञ्चालन गर्न भाडामा जग्गा उपलब्ध गराएको बताए ।