
जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले प्रस्तुत गरेको विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता पुरानो हुबहु कपिपेस्ट रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले आपत्ति जनाएका छन् ।
एमालेका सांसद दीपेन्द्र ठाकुरले जुन खालको विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता आएको छ, त्यसले प्रदेश समुन्त नहुने बताए । उनले भने, ‘प्रदेशलाई सकारात्मक दिशातर्फ डोर्याउने कुनै विषय समेटिएको छैन् । मेरो आँखा नै कमजोर छ वा विज्ञबाट परामर्श लिनमा नै कमजोरी भएको जस्तो मलाई लागेको छ ।’
‘खन्ती लिएर ठूला बिल्डिङ बनाउने सोच राख्नु ठूलो गल्ती हो’, उनले भने, ‘त्यसका लागि स्काइभेटर र डोजर नै चाहिन्छ । तपाईसंग के छ नीति र कार्यक्रम ? निमुखा जनतालाई झन बर्बाद पार्ने जस्तो कार्यक्रममा कुनै आशा र भरोसा म देख्दिन ।’
सांसद ठाकुरले प्रदेशलाई समुन्नत बनाउनु छ भने १०/२० दिनसम्म व्यापक छलफल र विज्ञहरुको सुझाव लिएर बजेट ल्याउन सुझाव दिए । उनले रोजगारी सृजना गर्न र उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा पनि जोड दिए ।
उनले चम्चागिरी गरेर दलका नेता र मन्त्री बन्नेहरु केहि गर्न नसकेको गुनासो गरे । उनले भने- मन्त्रीहरु आफ्ना घर वा बढीमा आफ्नो क्षेत्रको विकास मात्र गरेको देखियो ।’