भ्रष्टाचारको अखडा खजुरी विद्यालय, प्रअ सहनीले गरे लाखौँ हिनामिना

 

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित एक समुदायिक विद्यालयका प्रधानाध्यापकले लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित रहेको मावि खजुरीका प्रधानाध्यापक हरिलाल सहनीले विभिन्न शिर्षकको लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपसहित उनको बिरोधमा प्रदर्शन गरिएको छ ।

खजुरीका स्थानीयहरुले प्रधानाध्यापक सहनी विरुद्ध मूर्दावाद र हेडमास्टर चोर, भ्रष्टाचारीको नारा लगाउँदै उनलाई सो विद्यालयबाट हटाउन माग गरेका छन् । विद्यालयमा आउने सरकारी रकम, स्थानीय तहबाट उपलब्ध हुने रकम गरी करिब ८९ लाख रुपैयाँको हिनामिना गरेको आरोप लगाईएको छ ।

विगत २० वर्षदेखि सो विद्यालयमा भ्रष्टाचारको सीमा नाघेको बताइएको छ । प्रअ सहनीले करिब ९० लाख रुपैयाँको हिनामिना गरी शिक्षा क्षेत्रलाई नै भ्रष्टाचारको अखडा बनाएको आरोप विपिन राउतले लगाए ।

जुलुसमा सहभागी राउतले प्रअ हरिलाल सहनीले विद्यार्थीहरुको लागि आएको रकम, विद्यालय विकासको लागि आएको रकम हिनामिनाको साथै ठेकेदारी समेत आफैँ गर्न थालेपछि शिक्षा क्षेत्र शर्मसार भएको प्रतिक्रिया दिए । सहनीलाई सो विद्यालयबाट हटाउन उनीहरु सडकमा उत्रेका छन् ।