जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानस्थित डिभाइडरमा एक नीजि विद्यालय बसमा ठोक्किएपछि बसमा आगो लागेको छ ।
विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कूल बस सडक डिभाइडरमा ठोक्किएर आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन् भने ड्राइभर कुदेर ज्यान जोगाउन सफल भए ।
आगोले ध्वस्त बनेको बस लहान नगरपालिकाका ३ स्थित पारागन बोर्डिंग स्कूलको थियो । स्कूल संचालक उमेश चौधरीका अनुसार निर्माणाधीन राजमार्गको ठाउँ-ठाउँमा डिभाइडर राखिएको छ । उक्त डिभाइडरमा बसको डिजेल ड्यांकर ठोक्किदा आगो लागेको छ ।
आगो लागेर बस पूर्णरुपमा क्षतिग्रस्त बनेको स्कूल संचालक चौधरीले बताए । राजमार्ग निर्माणको ठेक्का लिएको चाइनिज कम्पनीको लापरवाहीले बसमा आगो लागेको उनको भनाई छ ।
बसमा एकैछिनमा आगो चारैतीर फैलिएको भिडियोमा देखिएको छ । आगो दनदनी बलिरहेको बेला प्रहरी र स्थानीयको भीड लागेको थियो । तर सबै मुकदर्शक बनिरहे ।