
सिरहा । मिर्चैया नगरपालिकाको नगरसभा विवादमा परेको छ । आज भइरहेको नगरसभा सम्पन्न नहुँदै विवाद छताछुल्ल भएको हो ।
नगरपालिकाले आज ११औं नगरसभा गरिरहेको छ । तर, नगरसभा पास हुन कठिनाइ हुने देखिएको छ ।
यस नगरपालिकामा जम्मा ६५ जना कार्यपालिका सदस्य हुन्छन् । त्यसमध्ये १ जनाको मृत्यु भइसकेपछि अहिले ६४ जना सदस्य छन् ।
यस्तोमा नगरसभा पास गर्नका लागि ३३ जना बहुमत सदस्यको हस्ताक्षर चाहिन्छ । जसमध्ये आजको नगरसभामा २९ जना कार्यपालिका सदस्य मात्रै उपस्थित भएका छन् । एकजना तटस्थ बसेका छन् ।
अन्य ३४ जना भने माओवादीको नगरप्रमुख श्रवणकुमार यादवको खेमाबाहेक यहाँका सबै पार्टीका नेता कार्यकर्ताहरूले मिर्चैयाकै एक होटलमा आयोजना गरेको समानान्तर नगरसभा कार्यक्रममा सहभागी छन् ।
मेयरले नगरपालिकामा हैकम चलाएको, सबै बजेट आफैले चलाएर चरम भ्रष्टाचार गरेको, आफ्नो गलत काममा साथ नदिने जनप्रतिनिधिलाई दुश्मनको भावनाले देखेको उनीहरूको आरोप छ ।
आयव्यय सार्वजनिक गर्नुपर्ने, बजेट बाँडफाँडमा समानता हुनुपर्ने, बजेट जनमुखी हुनुपर्ने, मेयरले अबण्डा रकम राख्न नपाउने, मिर्चैयामा आन्दोलनरत नागरिकको समस्या सम्बोधन हुनुपर्ने, विपक्षीसँग मित्रबत् व्यवहार हुनुपर्ने लगायतका माग उनीहरूको छ ।