
राजविराज । आफ्नै पत्नीको कुटपिट गरी हत्या गरेको आरोपमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर २ निवासी रामरुप खंगलाई पत्नी पार्वती हत्याको आरोपमा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एव डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
३५ बर्षीय खंगले ३० वर्षीया पार्वती देवी खंगलाई आईतबार राति घरायसी विवादमा कुटपिट गरेपछि गम्भीर घाइते भएकी थिइन् । पार्वतीको उपचारका क्रममा राजविराजस्थित अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
रामरुपले पत्नीलाई कुटपिट गरिरहँदा बचाउन गएकी उनकी आमा ६१ वर्षीया समतोलिया खंग घाइते भएकी छन् । उनको राजविराजमा उपचार भइरहेको छ ।
घट्नापछि रामरुपलाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।