विराटनगरका व्यवसायी सिरहाको होटलमा मृत भेटिए, घटना शंकास्पद !

 

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका ६ स्थित शम्भु होटलमा विराटनगरका एक व्यवसायी मृत फेला परेका छन् ।

विराटनगर उपमहानगरपालिका १० का २५ वर्षीय सिद्धान्त भट्टराई मृत फेला परेका हुन् । छतबाट लडेर मृत्यु भएको आशंका गरिएपनि घटना रहस्य देखिएको छ ।

मृतक भट्टराई विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा चालकसहित मिर्चैया आएका थिए । उनी कपी (अभ्यास पुस्तिका)को मार्केटिङ्ग गर्दै आएको खुलेको छ ।

भट्टराईले गाडी चालक सागर राईसंगै बस्ने भनेर सहदेव होटलमा कोठा बुक गराएका थिए । कोठा बुक गरेर एक्लै हिडेका उनी मध्यरातमा शम्भु होटलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले उनको मृत्यु कसरी भएको विषयमा अहिले केहि भन्न नसकिने बताए ‌। उनले भने, ‘छात्तीमा चोट लागेको देखिएको छ । थप अनुसन्धान भईरहेको छ ।’

उनका अनुसार सहदेव होटलमै खाजा र खाना खाएका भट्टराई शम्भु होटलमा कसरी गए भन्ने छानविनको विषय रहेको बताए । चालकसंग सोधपुछपछि धेरै कुरा खुल्न सक्छ ।

शम्भु होटलका सञ्चालक शम्भु साहले भट्टराई राति करिब ११ बजे आफ्नो होटलमा आएको बताए । उनले भनेका छन्, ‘भट्टराई वियर माँगेर पिएको र केहीवेरमा शौचालय कता छ ? भन्दै सोधेपछि मैले शौचालय देखाई दिए । त्यसपछि के भयो थाहा भएन ।’

शव अहिले घटनास्थलमै रहेको छ । मृतकका आफन्त आएपछि शव पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।