सिरहा । सिरहामा खुल्लेआम भइरहेको तस्करी प्रकरणमा संलग्नताको आशंकामा आइतबार इलाका प्रहरी कार्यालय माडरका इन्चार्ज सई अमित राई र प्रहरी चौकी खिरौना इन्चार्ज असई दुर्गा यादव जिल्ला तानिए ।
उनीहरूसँगै माडरका १९ जना र खिरौनाका ९ जना गरी २८ जना अन्य प्रहरी कर्मचारीलाई जिल्लाले अनुसन्धानका लागि तान्यो । श्रोतका अनुसार, उनीहरू तस्करी धन्दामा संलग्न थिए ।
तर, एउटा खास रहस्य चाहिँ के खुलेको छ भने सई अमित रायले आफूलाई डीआईजीको घुमुवा र निकट व्यक्ति बताएर आतंक मचाएका थिए । प्रहरी श्रोतकै अनुसार, उनी तलदेखि माथिसम्मका हाकिमलाई मिलाउन माहिर छन् ।
यसैकारण उनी सिरहामा लामो समयदेखि असुलीको गोरखधन्दा चलाउँदै आएका छन् । हाकिमलाई मात्र होइन, सीमा क्षेत्रमा केहि पत्रकारहरूलाई समेत महिनाबारी दिएर मिलाएका उनी आफूलाई कसैले केही गर्न नसक्नेमा ढुक्क थिए ।
तर, तस्करी घटनामा प्रहरी वृत्तमा उनको सेटिङ र संलग्नता छताछुल्ल भएपछि उनी अनुसन्धानमा तानिएका छन् । उनीमाथि अनुसन्धान भइरहेको छ ।