रविराजको छठ गीतलाई प्रशंसाको ओइरो, रिङब्याक टोनमा राख्न टेलिकमलाई श्रोताको आग्रह

 

जनकपुरधाम । नेपालकै पहिलो रियालिटी शो नेपाल लोकस्टारमा शानदार प्रस्तुति दिएर श्रोताको मन जित्दै उदाएका मधेशका चर्चित र लोकप्रिय लोक गायक रविराज शाहको छठको दुई गीत सार्वजनिक भएको छ ।

मधेशी समुदायको महान पर्व छठको पूर्वसन्ध्यामा गायक शाहले छठको दुईवटा मन छुने गीत सार्वजनिक गरेका हुन् । ‘कवना घाटे’ र ‘हे छठी मैयाँ’ नामक दुई गीत शाहको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ ।

दुबै गीतमा संगीत पनि शाह आफैले भरेका छन् । दुई गीतमध्ये कवना घाटे गीत उमालाल यादवले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सदाम हुसेन, अनिता यादव लगायतको अभिनय छ ।

यस्तै, हे छठी मइया गीत नरेन्द्र साहले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सरोज शाह, अनिता यादव, जयन्ती यादव, सरीता यादव लगायतको अभिनय रहेको छ । दुबैमा भिडियो निर्देशन भने सदाम हुसेन अन्सारीले गरेका छन् ।

नेपाल टेलिकम प्रायोजक रहेको यी दुबै गीतको मधेशमा चौतर्फी प्रशंसा भइरहेको छ, चारैतिर सुनिदैँछ । यसमा पनि श्रोताले खासगरी कवना घाटे गीतलाई सर्वाधिक मन पराइरहेका छन् । त्यस गीतमा छठको महत्त्व र विधि-विधानलाई सरल शब्दमा बखान गरिएको छ ।

बजारमा जथाभावी उत्पादन हुने झुर गीतहरूका कारण लोकास्थाका पर्वहरूको महत्त्व ओझेलमा परिरहँदा यो गीतले भने पौराणिकता र मौलिकता महसुस गराउँछ । यसले नयाँ पुस्तालाई छठ पर्वप्रति अझ अपनत्व आभाष गराउने, आस्थवान अनि जानकार बनाउने प्रतिक्रिया श्रोताहरूको छ ।

विश्व चर्चित गायक उदितनारायण झाको झल्को दिने रविराजको मिठा स्वरका गीतले श्रोताहरूलाई त्यसै पनि कायल बनाउने गरेको छ । यो गीत सुनेपछि श्रोताहरूले टेलिकम कम्पनीहरूलाई यसलाई रिङब्याक टोनमा राख्न अनुरोध पनि गरेका छन् ।

गीतको लिंक :
कवना घाटे :

हे छठी मैया :