
सिबेन्द्र रोहिता, जकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मालपोत कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै मेयर सुखदेव यादवले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाएका छन् ।
लामो समयदेखि क्षिरेश्वरनाथ नगरपालिाका, महेन्द्रनगरमा मालपोत कार्यालयको शाखा स्थापना नहुँदा ग्रामीण भेगका सेवाग्राहीहरु मर्कामा पर्दै आएकाले भन्दै मेयर यादवले मालपोत कार्यालय स्थापना गर्न माग गरेका हुन् । धनुषाको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेलाई ज्ञापन–पत्र बुझाउँदै तत्कालै मालपोत कार्यालय स्थापना गर्न ध्यानाकर्षण गराएका छन् ।
क्षिरेश्वरनाथ नगरपालिकाको पूर्वमा मिथिला विहारी र धनुषाधाम नगरपालिका, पश्चिममा बटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका तथा दक्षिणमा लक्ष्मिनियाँ गाउँपालिका रहेको हुँदा मध्य विन्दु महेन्द्रनगर रहेकोले आउन जान यातायातको समेत सुविधा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
क्षिरेश्वरनाथमा मालपोतको शाखा कार्यालय स्थापना भएमा ती पालिकाहरु र यस नगरपालिकाका बासिन्दाहरुलाई मालपोत सम्बन्धि कामकाजको लागि आवत जावत गर्दा आर्थिक तथा समय समेत बचत हुनेछ । तर मालपोत कार्यालय धनुषाको शाखा मिथिला नगरपालिकाको ढल्केवरमा स्थापना गर्ने भनी हाल गरिएको निर्णयप्रति मेयर यादवले असहमति जनाएका छन् ।
मालपोत कार्यालयको शाखा ढल्केवरमा स्थापना भएमा क्षिरेश्वरनाथ नगरपालिकाको मालपोत सम्बन्धी कामकाज मालपोत कार्यालय जनकपुरधामबाट नै हुनेगरी व्यवस्था मिलाउन मेयर यादवको माग छ ।