
जनकपुरधाम । धनुषा शहीदनगर नगरपालिकाका शिक्षा संयोजक विश्वनाथ यादवले राजिनामा दिएका छन् । आइतबार नगर प्रमुख दिनेश प्रसाद यादव समक्ष उनले राजिनामा बुझाएका हुन् ।
नगरको शिक्षामा उत्पनन भएको विवाद उत्कर्षमा पुगेपछि उनले राजिनामा दिएको देखिएको छ । उनको राजिनामा नगर प्रमुख यादवले स्वीकृत समेत गरिसकेका छन् । आइतबार नै उनको ठाउँमा नगरपालिकाकै अधिकृत उमेश महतोलाई जिम्मेवारी दिइएको छ ।
शहीदनगरमा विगत केही दिनदेखि विश्वनाथ यादवको राजिनामा माग गर्दै नगरका केही जनप्रतिनिधिहरुले आन्दोलन गर्दै आएका थिए । यादवले आँफूमाथि अनावश्यक दाग लगाइएको र विकास निर्माणलाई प्रभावित बनाउने सडयन्त्र भएको पत्रमार्फत जनाएका छन् । ‘आन्दोलनको नाममा शहीदनगर नगरपालिकाको द्रुत गतिमा भइरहेको विकास निर्माण र जनसरोकारहरूको कामहरुलाई प्रभावित पार्न, निर्वाचित जनप्रतिनिधीहरुलाई असफल पार्न र मेरो पदलाई लक्षित गरी केही विकास विरोधी तत्वहरुको अवांच्छित षड्यन्त्र सम्पुर्ण नगरवासीमा अव गत नै छ,’राजिनामा पत्रमा उल्लेख गरिएको छ, ‘तसर्थ म शहीदनगर नगरपालिका र आम जनसमुदाय को वृहत्तर हितको लागी आजकै मितिवाट शिक्षा शाखा प्रमुखको पदवाट राजिनामा गर्दछु ।’