सिरहामा केन्द्रको प्रहरी टोलीको रेड : एसपी आचार्यको बिचौलिया भनेर परिचित नरेश नियन्त्रणमा

 

सिरहा । सिरहामा प्रहरी प्रधान कार्यालयको केन्द्रको टोलीले छापामारी गरेको छ । छापामारीको क्रममा प्रहरीले एकजना अवैध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सिरहामा ‘एसपीको मान्छे’ भनेर परिचित माडरका नरेश साहलाई नियन्त्रणमा लिएको हो । उनलाई मिर्चैयास्थित हिरासतमा राखिएको छ ।

तर, केन्द्रको टोलीले नियन्त्रणमा राखी अनुसन्धान गरिरहेकोले आफूलाई धेरै कुरा थाहा नभएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।

साह अवैध धन्दा गर्ने र खासगरी तस्करीजन्य धन्दा गर्नेहरूलाई एसपीसँग लाइन मिलाउने र पैसा उठाएर एसपीलाई दिने काम गर्दै आएको प्रहरीकै साना कर्मचारीहरू नाम नबताउने शर्तमा बताउँछन् ।

उनी हुन्डी कारोबारीसमेत हुन् । सिरहामा प्रहरी प्रमुख बनेर प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य आएपछि उनको धन्दा झन् फस्टाएको छ ।