सिसबोनीका अग्निपीडितलाई नेपाल-भारत मैत्री संघको राहत

 

सिरहा । मिर्चैया नगरपालिका-३ सिसबोनीका अग्निपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । नेपाल-भारत मैत्री संघले सिसबोनीका अग्निपीडितलाई राहत सामग्री प्रदान गरेको हो ।

सिसबोनीमा गत बैशाख १२ गते भएको आगलागीबाट ५ घर जलेको थियो । आगलागीपछि अन्नपातसमेत जलेर नष्ट हुँदा उनीहरूको बिचल्ली भएको थियो ।

उनीहरूलाई आइतबार प्रतिपरिवार साडी, साया, ब्लाउज, लुंगी, गम्छा, भेष्ट, फ्राक, तन्ना, झुल, पटिया, थाल, कठौती, ग्लास, कमण्डललगायतका सामग्री प्रदान गरिएको संघले जनाएको छ ।

राहत पाएपछि पीडितहरूले संघप्रति आभार प्रकट गरेका छन् । राहत सामग्रीका लागि नेपाली कांग्रेस नेता एवं संघका केन्द्रीय सदस्य अरूण कुमार सिंहले पहल गरेका थिए ।

राहत वितरण कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झा, संघका केन्द्रीय सदस्य अरूण कुमार सिंह, संघका सिरहाका अध्यक्ष सन्तोष अग्रवाल, कांग्रेस नेता कपिल देव साह, धनेश्वर यादव, रमेश न्योउपाने, अशोक साह, अमित कुमार साह, स्थानीय नेता खगेश्वर यादवलगायत सहभागी थिए ।